सनिता भण्डारीको कविता: बाँच्ने कुनै आधार छैन



कसरी रोकुँ बर्बरी बग्ने आँसुको यो भेल
बुझ्दैन कैले सामन्ती सरकार आँसुको मोलतोल ।
एक वर्षसम्म दाम छैन कत्ती हुँ उखु किसान
कसरी बचाऊँ जीवन अब आधार केही छैन ।

रिन काडी साहुको गरियो खेती गुलियो उखुको
नपाउँदा मोल उखुको फेरि अमिलो मन भो ।
धितोमा ले’को साहुको रिन उकास्न पा’छैन
कसरी बचाऊ जीवन अब आधार केही छैन ।

उखुको मूल्य तोकिदेऊ सरकार भनेको कत्ति भो
न्यायको ढोका खुलेन अझै अब त अत्ति भो ।
लिएको रिन बन्दकी राखी जग्गा र जमिन
कसरी बचाऊँ जीवन अब आधार केही छैन।

एक गाँस खाने एक आङ ढाक्ने हरायो आधार
सरकारको हालत बाँदरको पुच्छर लौरो न हतियार ।
किसानको घाउमा नुनचुक हैन लगाइदेऊ मलम
कसरी जिऊँ जीवन अब आधार केही छैन ।

प्रतिक्रिया