बि. एन. ढकालको कविता: अधुरा सपना



म सानै छँदा आमालाई प्रश्न गर्थें–
“आमा ! हाम्रो बाबा खै ?”

प्रश्न सुन्नासाथ मेरी आमा
भुर्इं हेरेर आकाशको कुरा गर्थिन्
“भगवानको घरमा हुनुन्छ तिम्रो बाबा !”
म सोध्थें–
“कहाँ छ भगवानको घर ?”
प्रश्न खस्न नपाउँदै मेरी आमा
अकस्मात्, मलाई बोकेर दगुर्थिन् बाहिर
र देखाउँथिन्–
आकाशमा झुल्किएको पूर्णिमाको सग्लो जून !

भरिएपछि रस, हुर्किएपछी यौवन
जसरी सुन्दर फूल फूल्छ
र, जब लगाउँछ वासनाले हावासँग प्रेम
भमरा त यसै घुम्दोरहेछ फूलको वरिपरि !

म पनि त्यसरी नै फुलेको एउटा फूल थिएँ
र तिमी थियौ मेरो पनि वरिपरि !

धेरै जसो प्रेमीहरु आफ्ना प्रीयसीहरुलाई
आकाशका जून, तारा…. झार्दिन्छु भन्छन् रे !
तिमीलाई म प्रेमी भनूँ वा भनूँ नजुरेको जोडी
तिमीले कैल्यै गरेनौ जून, तारा… झार्ने कुरा !
बरु गर्यौ जूनमै घर बनाउने हाँस उठ्दो कुरा !

चाहना थियो–
तिम्रो अँगालोमा बाँधिएर
तिम्रै आँखा नियाल्ने !

सपना थियो–
तिम्रो काखमा लुटपुटिएर
तिम्रै निधारमा लेखिएको भाग्य चियाउने !

उद्देश्य थियो–
तिम्रो सगरमाथा जत्रो काँधमा उभिएर
तिम्रै सफलताको झण्डा फर्फराउने !

रहर थियो–
हजार जुनीसम्म तिम्रै हात समाएर
संसारलाई साढे सात फन्को मार्ने !

अफसोच् !
साढे सात फन्को मार्नु अघि संसारलाई
फन्को मारेछ साढे सातको दशाले तिमीलाई !
र गयौ तिमी मलाई छोडेर
आमाले भनेजस्तै–
उही भगवानको घर जूनमा !

उ बेला तिमीले गरेको हाँस उठ्दो कुराले
यो बेला खुब रुवाउँछ मलाई !
आजभोलि त्यो आकाशको जून र तिमी
किनकिन उस्तै लाग्छ मलाई !

र, जूनझैँ टह–टह झुल्काएर आँखामा तिमीलाई
म हरेक पूर्णिमाका रातबाट सुनौला बिहान जन्माउँछु !

ओ मेरो प्रीय मान्छे !
अब त्यो जूनमा बनाउनु तिमीले भनेजस्तै घर
र गर्नु मलाई पनि चाँडै खबर !
संगालेर सबै अधुरा सपना
म पनि छिट्टै आउनेछु तिम्रै साथमा !

अरूण गाउँपालिका-५, भाेजपुर ।
हालः काठमाडाैं ।

प्रतिक्रिया